नेपालगन्जमा वैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु

नेपालगन्जमा आजदेखि बैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । रामलिला मैदानमा सुरु भएको महोत्सवमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् । महोत्सवको पण्डित पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा पण्डित पोखरेल, प्रतिनिधिसभा सदस्यहरु दीपा शर्मा, लक्ष्मी तिवारी, प्रदेशसभा सदस्य रत्न खत्री, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, कोहलपुरकी उपमेयर संगिता सुवेदी, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल लगायतले बोलेका थिए । 

बाँके र यस आसपासका नागरिकले वर्षौंदेखि प्रियजन र आफन्तजनको निधनपछि दाहसंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको बैकुण्ठधाम निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले आध्यात्मिक महोत्सव आयोजना गरिएको संयोजक डा. सुरेशकुमार कनोडियाले बताए । कनोडियाका अनुसार महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर २००० बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहने गरी ११० बढी उपसमिति गठन गरिएको छ ।

महोत्सवस्थल रामलिला मैदानबाट झाँकीसहित शोभा कलशयात्रा निकालिएको थियो । शोभा कलशयात्रा रामलिला मैदानबाट सुरु भई भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोजी, सेतु बिक चोक हुँदै त्रिभुवन चोक, रानी तलाउ भएर पुनः रामलिला मैदानमा पुगेको थियो । विभिन्न जातजाति, भाषा, धर्म र सम्प्रदायको झाँकीसहित कलशयात्रा गरिएको थियो ।

By devalayanews

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You May Also Like